Masthead Image
ANNOUNCEMENTS
📢 Admission Open for 2023-24 Academic Year   |   🎓 Congratulations to our Graduating Class of 2023   |   🏆 Our Research Team Won National Science Award   |   📚 New Library Resources Available for Students   |   🌟 Campus Ranked #1 in Regional Excellence

इतिहासः

Oct 14, 2022
वनारसबाट संस्कृत व्याकरण विषयमा उच्च शिक्षा आर्जन गरी धरान आउनु भएका शिक्षाप्रेमी युवा पं. छविलाल पोख्रेलले धरानमा संस्कृत शिक्षालय स्थापनाको प्रस्ताव गर्नु भएकामा उक्त प्रस्तावलाई तत्कालीन शिक्षासेवीहरू– विष्णुभक्त अधिकारी, धर्मदत्त ढुङ्गेल, भागवतप्रसाद खनाल, पद्मलाल गिरी, पं. लक्ष्मीप्रसाद कोइराला आदिले सहर्ष स्वीकार गरी धरान सिंहदेवी मन्दिर उत्तरतर्फको दुईधारे पाटीमा २००४ साल भाद्रकृष्ण अष्टमी तिथिमा श्रीराम संस्कृत पाठशाला स्थापना गरी संस्कृत विषय अध्यापनका लागि भवदेव मिश्र र आधुनिक विषयका लागि लागि पीताम्बर चौधरीलाई नियुक्त गरे । पाठशाला स्थापना गरी पठनपाठन सुरु गरिँदा आर्थिक समस्या भएपछि सञ्चालक समिति गठन गरी त्यसकै सक्रियतामा साहुमहाजन, दाता सबैसँग हारगुहार गरी अक्षयकोष खडा गरी मूल धनलाई व्याजमा लगाई त्यसको व्याजबाट सञ्चालन खर्च जुटाउने व्यवस्था मिलाइयो । यसरी उक्त पाठाशाला चल्दै गर्दा विद्यालय तहमा मात्र होइन, क्याम्पस/महाविद्यालय तहमा समेत यसलाई स्तरोन्नति गर्नुपर्छ भन्ने सोच विकसित भयो र तत्कालीन बडा हाकिम भूपालमान सिंह कार्कीसमक्ष बिन्ती गर्न धरानका शिक्षाप्रेमी, बुद्धिजीवीहरू विराटनगर जानु भई बिन्ती बिसाउँदा वहाँबाट सकारात्मक जवाफ आई पहल गर्ने प्रतिबद्धता जाहेर भएपछि बडाहाकिमको अग्रसरता र स्थानीय शिक्षासेवीहरू छविलाल पोखरेल, दीननाथ पौेडेल, भागवतप्रसाद खनाल, पं. मेघराज शर्मा, धर्मदत्त उपाध्याय, कैलाशमान श्रेष्ठ, नरेन्द्रबहादुर बस्नेत, हरिप्रसाद खनाल, मी.सु. रामचन्द्र अधिकारी, चन्द्रजंग थापा आदिको सक्रियतामा २००८ साल मङ्सिर २७ गते पिण्डेश्वर मन्दिर परिसरमा तत्कालीन राजा त्रिभुवनवीर विक्रम शाहदेवलाई उपस्थित गराई वहाँबाट पिण्डेश्वर संस्कृत महाविद्यालयको समुद्घाटन सम्पन्न गरियो । त्यतिबेला पिण्डेश्वर मन्दिर, चतरा मठ र रामधुनी मठ गुठीको व्यवस्थापनबाट सञ्चालित थिए, तीमध्येको पिण्डेश्वर मन्दिर गुठीका नाउँमा विद्यापीठले हाल भोगेको र मन्दिरदेखि दक्षिणतर्फको सम्पूर्ण पाखो जग्गा थियो । महाविद्यालयको उद्घाटन गरिएपछि पाठशालाका ५० जना विद्यार्थी तथा २ जना गुरुहरूलाई मात्र नभई पाठशालाका सम्पूर्ण कागजात, मूलधन आदि सबै यही ल्याएर गाभियो र पिण्डेश्वर महाविद्यालयबाटै विद्यालय र महाविद्यालय तहका सम्पूर्ण पठनपाठन थालियो । त्यतिबेला पिण्डेश्वर मन्दिर परिसरमा ३५–४० जति जोगीहरू बस्ने गर्दथे, जसका प्रमुख पत्थरगिरि नाउँका महन्त थिए, उनका युवा शिष्य कुबेर पुरी थिए । उनीहरू एवम् चतरा, रामधुनी, बराहक्षेत्र लगायतका ठाउँमा बस्ने जोगीहरूका लागि गुठीले भोजन आदिको सुप्रबन्ध गरेको थियो । यसका लागि गुठीबाट नियमित बजेट निकासा हुन्थ्यो । राजा त्रिभुवनको भनाइ– “मन्दिर महाविद्यालय भाइ भाइ” भन्ने कथनलाई शिरोपर गरी एउटै गुठी व्यवस्थापनबाट मन्दिर र महाविद्यालय चल्न थाले, फलतः पिण्डेश्वर महाविद्यालयका विद्यार्थी पनि त्यही बस्न थाले । यसरी एकसाथ बस्नेमध्ये एकथरि (विद्यार्थी) लाई भोजनको सुविधा समेत नहुँदा नहुँदै अर्काथरिलाई चाहिं सुविधा बढी भई अराजक स्थितिसमेत उत्पन्न भएको देखेपछि पं. छविलाल पोखरेलको नेतृत्वमा बडाहाकिमलाई भेट्न २०११ सालमा विराटनगर गएको टोलीले जोगीको सिधाबाट कट्टी गरी ७५ जना विद्यार्थीलाई भोजनको समेत व्यवस्था मिलायो र ७५ जना विद्यार्थी एवम् केही थप अरु पनि केही विद्यार्थी उक्त भोजनबाट लाभान्वित भई पढाइमा तल्लीन हुन थाले । सुरुका वर्षहरूका यहाँ पूर्वमध्यमा, उत्तर मध्यमा र शास्त्री तहको पठनपाठन अनौपचारिक रूपमा सञ्चालन गरी वनारसस्थित गवर्मेन्ट संस्कृत कलेजबाट परीक्षा दिने व्यवस्था मिलाइएको भएपनि २०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भई त्यसको सम्बद्धता प्राप्त गरेपछि उक्त विश्वविद्यालयको संस्कृततर्फको पाठ्यक्रम लागू गरी पढाइ सुचारु गरियो । यसरी आर्थिक दायित्व गुठीसंस्थान व्यहोरिँदै र पाठ्यक्रम चाहिं त्रि.वि.को सञ्चालन गरिँदै यो विद्यापीठ नयाँ शिक्षा लागु हुनुपूर्व (२०३० अघिसम्म) सम्म द्वैधव्यवस्थापनमा चल्यो। यसबिचमा कतिवर्ष निकै गहिरो आर्थिक संकटबाट पनि गुज्रनु पर्यो । नयाँ शिक्षा लागू भएपछि भने त्रिविले यसलाई आङ्गिक विद्यापीठका रूपमा सकारी २०४२ सालसम्म संस्कृत अध्ययन संस्थान अन्तर्गत राखेर सञ्चालन ग¥यो । वि.सं.२०४३ मङ्सिर २५ गते महेन्द्र संस्कृत विश्वविद्यालय ऐन पारित भई छुट्टै संस्कृत विश्वविद्यालय स्थापना भएपछि यो महाविद्यालय म.सं.वि.को आङ्गिक विद्यापीठ बन्यो । २०६२/०६३ को गणतान्त्रिक आन्दोलनपछि म.सं.वि.ले आफ्नो नाम परिवर्तन गरी नेपाल संस्कृत विश्वविद्यालय कायम गरेपछि अहिले यो विद्यापीठ ने.सं.वि. को आङ्गिक विद्यापीठका रूपमा सञ्चालनरत रहेको छ । पुराणहरूमा रुद्राक्षारण्य क्षेत्र भनी वर्णित यस पवित्र ठाउँमा पिण्डेश्वर महादेव, वराहक्षेत्र, विष्णुपादुका, दन्तकाली, पञ्चकन्या एवम् किराँतेश्वर महादेव बुढासुब्बा देवताको सदा आशीर्वाद रहेको छ । साथै यहाँ मौसमसको सदा अनुकूलता, शीतलता, शान्ति, एकान्तता, भौगोलिक सुगमता र शैक्षणिक वातावरण रहेकाले भुटान, सिक्किम, दार्जिलिङ, आसाम लगायत भारतका विभिन्न क्षेत्र/प्रान्तबाट र नेपालका विभिन्न क्षेत्रबाट अनेकौं विद्यार्थीहरू अध्ययनार्थ आउने गरेका छन् । यदाकदा अमेरिका र युरोपीय केही देशबाट समेत पौरस्त्य ज्ञान लिन र सांस्कृतिक–धार्मिक विषयमाथि अध्ययन/अनुसन्धान गर्न जिज्ञासुहरू आकर्षित हुने गरेका छन् ।

Other Topics

प्राचार्य–मन्तव्यः

सरस्वतीका समुपासक समस्त विद्वत्÷स्नेहीजन † नेपाल लगायत भारतीय महाद्वीप संस्कृत शिक्षाका लागि उर्वरभूमि…

Read More

संस्थापना

पिण्डेश्वर विद्यापीठ शास्त्री (स्नातक) तहमा प्राच्य (संस्कृत) विषयतर्फ– शुक्लयजुर्वेद, न्याय, व्याकरण,…

Read More

संस्कृतजनशक्तीनां कृते अवसरः

पिण्डेश्वर विद्यापीठबाट उत्पादित जनशक्ति शिक्षक एवम् प्राध्यापकका रूपमा देशभरका विद्यालय र कलेजहरूमा…

Read More

लक्ष्यम्

भविष्यमा आचार्य तहमा फलित ज्योतिष र स्नातक तहमा एकबर्से शिक्षाशास्त्री कार्यक्रम सञ्चालन गर्ने लक्ष्य…

Read More