भौतिकी अवस्था

Infrastructure

पिण्डेश्वर विद्यापीठ पिण्डेश्वर मन्दिरको पूर्व उत्तरतर्फको सीमानामा विद्यमान छ । यस विद्यापीठको नाममा अठार बिघा तेह्र कठ्ठा आठ धुर ( १८–१३–०८) जग्गा रहेको छ । उक्त जग्गामा दुई वटा शिक्षण भवन रहेका छन् । एउटा दुईतले २४ कोठा भएको पुरानो शिक्षण भवन रहेको छ भने अर्को अढाई तलाको १० कोठे शिक्षण भवन छ । त्यस्तै नेपालभारत सहयोगमा निर्मित दुईतले महाकवि कालिदास भवन छ, जुन पुस्तकालय, वाचनालय र सभाहलका रूपमा प्रयोग हुँदै आएको छ । त्यस्तै नेपाल संस्कृत विश्वविद्यालयको लगानीमा २०६८ सालमा एकतले प्रशासकीय भवन निर्माण भएको छ, जुन विद्यापीठ प्रशासनका विभिन्न फाँटका कक्षहरूका रूपमा प्रयोग हुँदै आएको छ । विद्यापीठ परिसरमै पूर्व पश्चिम फैलिएको ९ कोठाको छात्रावास र त्यसको पूर्वतर्फ उत्तरदक्षिण मोहडामा रहेको १६ कोठको दुईतले छात्रावास समेत रहेको छ । यी छात्रावासमा अहिले ९६ विद्यार्थी बस्दै अएका छन् ।

पिण्डेश्वर विद्यापीठको २४ कोठे शिक्षण भवनको शिलान्यास तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहबाट २०१३ साल पुस १३ गते भएको हो । शिलान्यास भएपनि शिक्षा मन्त्रालय र गुठीसंस्थानबाट आर्थिक अनुदान प्राप्त हुन नसकेपछि लामो समयसम्म पनि यसको निर्माणले गति लिन सकेन । वि.सं. २०२५ मा सरकारबाट एकतले भवन निर्माणका लागि अनुदान प्राप्त भयो र पथिक कवि लक्ष्मीप्रसाद आचार्यको नेतृत्वमा निर्माण सुरु गरी २०२८ सालमा भुइँ तलाको निर्माण पूरा गरी २०२९ असोज ३ गते तत्कालीन प्र.म. कीर्तिनिधि विष्टबाट समुद्घाटन समेत गराई यसै भवनमार्फत पठनपाठन सुरु गरियो । त्यसपछि २०३१ सालमा हालको फलामे गेट निर्माण गरियो । शिक्षण भवनको पहिलो तला भने २०३६ सालमा पूर्ण भयो । पहिलो तलाको निर्माण हुन बाँकी पूर्वतर्फको १ कोठा भने यसै विद्यापीठका पूर्वछात्र त्यतिबेला धरान–१४ मा बस्नुहुने लेखनाथ भट्टराईले निर्माण गरिदिनुभएको हो । २०५३ सालमा आचार्य तहको पढाइ सुरु भएपछि (हाल विभिन्न विभागहरू रहेको दुईतले भवन) आचार्य तहको शिक्षण भवन निर्माण गरिएको हो । त्यस्तै कालीदास पुस्तकालय भवनको निर्माण भारतीय राजदुतावासले २०६३ सालमा सुरु गरी २०६४ जेठमा सकेर असारमा यस विद्यापीठलाई हस्तान्तरण गरेको देखिन्छ ।

हाल प्रशासन सञ्चालनरत भवन भने ने.सं.वि. को क्रमागत बजेटबाट २०६८ सालमा निर्माण पूरा गरी सञ्चालनमा ल्याइएको हो । त्यस्तै पूर्वपश्चिम छात्रावासको निर्माण २०१८ सालमा सम्पन्न भएको देखिन्छ । उक्त छात्रावास बनेपश्चात् पनि केही विद्यार्थी मन्दिरकै अट्टालिकामा बस्दै आएकामा २०४५ साल भदौ ५ गते गएको भूकम्पबाट कमल खतिवडा नाउँका विद्यार्थीको निधन भएको र शिवराज चापागाई, दिव्यराज दाहाल, होमनाथ नेपाल, प्रेम पराजुली लगायत घाइते समेत भएपछि म.सं.वि.ले नयाँ छात्रावास निर्माणका लागि तत्कालै बजेट निकासा गराई २०४७ सालमा हालको उत्तरदक्षिण छात्रावास निर्माण गराएको हो । यसबाहेक विद्यापीठको पूर्वतर्फ फराकिलो खेलकुद मैदानसमेत रहेको छ । साथै विद्यापीठको दक्षिण पश्चिमतर्फ (मन्दिर छेउमा) विद्यापीठको आफ्नै भवनमा क्यान्टिन (चमेनागृह) समेत रहेको छ । पुरानो शिक्षण भवनको आँगनमा टिनको छानो भएको कार्यक्रम स्टेज बनाइएको थियो, जसलाई कालीदास भवनको सभाहल बन्नुअघिसम्म प्रयोग गरिँदै आएको थियो । कालीदास भवनमा सभाहल बनेपछि उक्त टहरो प्रयोगहीन अवस्थामा छ । त्यसको उत्तर कुनामा यस विद्यापीठका संस्थापक पं.छविलाल पोखरेल गुरुको प्रतिमा स्थापना गरिएको छ ।